Saturday, August 22, 2009

आदिवासी रुख

रक्ष राई
म बालुवाको वसन्तमा
हरियो पासपोर्ट नीलो भएको छु ।

यो निर्दलीय पुलिसको लाठीजस्तो हुरी
यो निरङ्कुश सिपाहीको बन्दुकजस्तो आँधी
मान्छेभित्रको विनयशील 'म'लाई
निरन्तर-निरन्तर प्रहार गरिरहेछ
झुण्डिएर मर्नका लागि आपुनै दुःखी हाँगाहरु थिए
तथापि अनुनयमा आफ्नै हातहरु जोडिरहेछु
माङ्हिम कै अघि मौला हानिएर सत्यहाङ्मा
म कुनै भट्टिवाल्नीको प्लेटमा निर्मम मःमः हाँसिरहेछु ।

यहाँ आपुनै रमिता बनाएर हेर्नलायकको
मेरा सजल आँखाहरु झम्टा मारिरहेछन् वनभालुहरु
र मेरा दृष्टिका घारभित्र बास बसेका छन् अरिङ्गालहरु
मेरा शेषनागहरु जिब्रा थुतिएर
मष्तिष्कका विजयपुरमा प्रत्याक्रमण गरिरहेछन् चेतनाका बुद्धिकर्ण राईहरु
निमुखा मुखहरु मोचीले जुत्ताको तलुवा बनाएर मेरा आवाजहरु
म बर्मूडा र ब्ल्याकहोल निलिरहेछु
र मेरा निद्राका बूढासुब्बा ढोल ढ्याङ्ग्रो ठट्टाएर जागिरहेछ
आगाका झिरले क्षिण भए श्रवणशक्ति
र मेरा कानका सुरुङहरु सुदूर भविष्य-द्रष्टा भएका छन्
धमिराहरुले मेरुदण्ड खाइसकेर
मेरा गिदीभरि ब्याङ्पाटे र बारुला भरिएका छन्
यी आगाहरुले नुहाएको कठोर शितलता
आफ्नै नाङ्गा हाँगाहरुमा ताप्दै
विचारहरु माटामा जरिरहेछु
र आफ्ना जराहरुबाट उखेलिएर
बालुवाको एक्लो वसन्त उभ्याइएको छ ।

हो म बालुवाको वसन्तमा
कुनै नीलो-निलो रुख बनाइएको छु ।

Sunday, August 16, 2009

युगल गीत

टीका चाम्लिङ
नाइमा : छातिभित्र लाखौँ जुनी पारुहँकै नाउँ लेख्छु
पारुहँ : जहाँ पुगूँ आँखाभरि नाइमाकै गाउँ देख्छु

नाइमा : बाचा सम्झी पारुहँले सयौँ घाट तरी आउनू
पारुहँ : मनभरि तयामाझैँ माया-बुट्टा भरिराख्नू
नाइमा : जति टाढा भए पनि भरोसाले घाउ मेट्छु
पारुहँ : जहाँ पुगूँ आँखाभरि नाइमाकै गाउँ देख्छु

नाइमा : सिमे-भुमे साकेलाको शिली हाम्रो साक्षी बनोस्
पारुहँ : शिरमाथि पिरतीको सुनाखरी बाँचिरहोस्
नाइमा : भीरजस्तो पीरै सही आफ्नै थलो-ठाउँ टेक्छु
पारुहँ : जहाँ पुगूँ आँखाभरि नाइमाकै गाउँ देख्छु

Monday, August 10, 2009

साइँकुले

मणि कोइमी
हो त्यहीँ दिनदेखि
उसको दाँतमा ढुङ्गा लाग्यो
छिचोल्न सकेन-बाह्रखरी जङ्गल ।

जुनदिन ऊ-
आपाले मधेसबाट ल्याइदिनुभएको लिलामी भोटो लगाएर
आमाले पकाइदिनुभएको
किनेमाको तिहुनसँग फापरको ढिँडो सपासपी खाएर
सिम्मा नानाले बनिदिएकी ऊनीको रातो झोलामा
अलिकति भुटेको जुनेलो र पुदिनाको अचार
आज चौधौं दिन रमाउँदै
पढ्नलाई गएको थियो-श्री प्रा.वि...बरभाज्याङमा ।

जब ऊ-
कक्षाकोठामा प्रवेश गर्यो
शिक्षक सोमनाथ पण्डितद्वारा सोधियोः
'ए साइँलो हिज तिमी कन नआएका नि?'
-पेत डुखेर
(सबै गलल हाँसे)
'के औषधि खायौ त'
-टाटो पानी टटाएर खा'को
पूरै कक्षाकोठा उचालिनेगरी अट्टाहास छायो ।

बिचरा ऊ ग्लानीबोधले
एउटा कुनै कुख्यात अपराधीजस्तो
हिउँचितुवाको वेगमा
ढोकाबाट यस्तरी हाम्फालेर भाग्यो कि
ऊ उपरोक्त विद्यालयमा
कहिल्यै फर्केन कहिल्यै फर्केन…
हो त्यहीँ दिनदेखि
उसको दाँतमा ढुङ्गा लाग्यो
छिचोल्न सकेन-बाह्रखरीको जङ्गल ।

Sunday, August 2, 2009

यो तिम्रै माटो हो

भूपाल राई
यो तिम्रै माटो हो तिमीले टेकेको
यो तिम्रै आकाश हो तिमीले ओढेको
आमा यसरी कथा सुनाउँछिन्-
'अघि बढ्नेलाई खुला बाटो छ
पछि अड्नेलाई मुरी माटो छ ।'

यो चिहान चौतारी निसानीका चित्र
इतिहास नमाग्ने तिमी भूमि-पुत्र
तिमी आवादी हौ भस्मे खोरिया हौ
सिस्नुको जरामा फुल्ने सारङ्गी हौ
'उठी हिँड्नेलाई यात्रा दायाँ छ
थाकी बस्नेलाई छायैँछायाँ छ ।'

पुर्खाले रोपेको तिमी फुल्दो हाँगा
तिमी आपुनो घरमा आफै बास नमाग
तिमी मूल ढोका हौ सर्वस्वका धनी
सृष्टिमै तिमी जो थियौ हिमालमुनि
'माथि चढ्नेलाई चुली बाँकी छ
तल झर्नेलाई फेदी काफी छ ।'

आदिम मानिसको गीत

प्रकाश चाम्लिङ राई
मेरो जङ्गल यानेकी मेरो घर
मेरो खोला यानेकी मेरो प्राण
तिम्रो सभ्यताको दलाहा इतिहासले
तिम्रो जङ्गली मानवताले उजाडिदिएपछि
म ओडारमा ओतिएर
निश्प्राण बाँचेको छु ।

राष्ट्रियताको तिमीले दिएको विषको लड्डू
मैले नचिनेर खाएको हैन
एकताको तिमीले दिएको छली कपटी तर्क
मैले त्यसै स्वीकारेको हैन
मलाई थाहा छ रगताम्य इतिहास
म अहिले बिनाइतिहास बाँचेको छु
मलाई थाहा छैन
मेरो आङ उजाडेर तिमीले मलाई
मूर्ख राजा बनाएको
म बिसु्रला
मेरो जिब्रो थुतेर बेशब्द बनाएको
मलाई थाहा छ तिम्रो काइते इतिहास
जसले मेरो सभ्यताको चिहान खन्यो ।

मलाई थाहा छ
संविधानको हत्कडढी र नेलकडी लगाएर
तिमीले मलाई
काइते राष्ट्रियताको जेलमा सडाएका छौ
मलाई थाहा छैन भन्छौ
तिमीले दिएको राष्ट्रिय धर्म राष्ट्रिय भाषा
राष्ट्रिय चिन्ह र राष्ट्रिय एकताको विष
मलाई थाहा छ-
तिम्रो दलाहा संस्कृति
जसले
मेरो पहिचानको खिल्ली उडायो ।
भन अझै के छ
साम्राज्यवाद
भुमण्डलीकरण
आतङ्कवाद
आधुनिक युगका स्पार्टकस हौ हामी
हामीलाई त्यही जङ्गल प्यारो छ
हामीलाई त्यही खोला प्यारो छ
तिम्रो राष्ट्रिय एकताभन्दा
हामीलाई हाम्रो सार्वभौमिकता प्यारो छ
हामीलाई आफ्नैपन प्यारो छ ।

तिम्रो आडम्बरी सभ्यताभन्दा
हामीलाई हाम्रो आफ्नै असभ्यता
न्यानो छ
हामी आधुनिक युगको स्पर्शकस ।