Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Friday, February 5, 2010

आदिम मानव

अस्मिता नाछिरिङ राई

सुप्तुलुङ बाँधेर
अलच्छिना दोख
मन्साउँदै मन्साउँदै
मध्ये दिनमा आदिम गीतको
अन्तरा गाउँदै-गाउँदै
हाङछाहरु
सुसेली मार्छन्
केत्रेु कोउसा पुः र बाँदरहरु
समलिङ्गी रात बिताइरहेको बेला
सै ढोले सै
सै ढोले सै
मङ्किपा र छिप महा निन्द्रामा
धताएको बेला
रिसुवा गाउँदै
चिम्सा आँखाहरु
सर्पकै दुलोमा हात हाल्न पुग्छन्
आपुनै हाड मासुले जोडेको सृष्टी
प्रतिगमनको पहिरोले सोहोरेपिछ
घैँटाको घैँटा रित्याउँछन्
आक्रोसका जिचामहरु
आपुनै हाडको गजाले
बजाउँदै-बजाउँदै
पारुछाहरु
खुट्टा घुमाएर
छाती फुलाएर निस्केका छन्
आपुनै मूलबाटो र गोरेटोहरुमा
आगोका फिलुङ्गासँग खेल्दै
गुलेली र मटेङ्ग्रा बोकेर
आदिम गीतको अन्तरा
गाउँदै-गाउँदै
सै ढोले सै
सै ढोले सै
पितृहाङलाई बल मागेर
रुखको पातमा नाँच्दै
जोखाना हेर्ने
यो माटाको जेठो सन्तान
ऊ आदिम मानव ।

शब्दार्थ
केत्रे -भ्यागुता
कोउसा -कछुवा
पु: -सर्प
गिचाम -छोक्रा

Sunday, January 17, 2010

पुरानो सत्ताको अस्थिपंजर


नाकिमा

सरुङबाट
झिकेर कोक्पाको धनुकाँड
ताकिरहेछु म यतिखेर
पुरानो सत्ताको अस्थिपंजर ।

सक्दिन म नाच्न
रङ्गीन इतिहास बोकी
बेरङ्गीन पात्र भई
अन्यायको रङ्गमाचमा
सक्दिन म टाँस्न
आफ्नो निधारमा
आफ्नै रगतले मुछिएको चामल
मान्छु म
मेरै उधौली-उभौली
नाच्छु म
मेरै साकेलामा सिली
तिम्रो खुनी छातीमाथि
गाउँदै मुक्तिको मुन्धुम
बजाउँदै चेतनाको ढोल झ्याम्टा ।

लाग्छ किन अनौठो
आफ्नै भाषा
किन लाग्छ
आफ्नै देश परदेश
अब बोल्छु म विद्रोह
चढ्छु म अब
चेतनाको चोमोलुङ्मा ।

सरुङबाट
झिकेर कोक्पाको धनुकाँड
ताकिरहेछु म यतिखेर
पुरानो सत्ताको अस्थिपंजर ।

Monday, November 2, 2009

को मुठी साम


तारादेवी थुलुङ 'अथाह'

ए !
को मुठी साम !!
मुच्यूलाई
हमछ्योम द्युखा ग्वानामिम्
एमा गर्नाकाङा
मुच्य्का
ल्वा चमुबासी
खेल चमुबासी
भ्व्रा हुमुबासी
हिरोपोल्युम धामुबासी
सिजेम-लेमजेम प्लन्मुबासी
मेम् बेसाका ओ
मेनुयावा माला
त्वाकु लमुबासी
गानालाई
ज्युल्यमुकाम लागि
को मुठी साम !

जलेश्वरी, खोटाङ

Saturday, October 17, 2009

दाजै, साकेला नाचौं

जीवन चाम्लिङ

क्षितिज पारिको
आदिवासी बस्तीबाट
हुलका हुल घामहरु उदाउँदैछन्
घरको मझेरीतिर प्रभातको उषाहरु
उहिलेदेखि सलबलाइरहेछन्
समयले वैशाखलाई काखी च्यापेर
जेठको उभौली लौरो टेकिरहेछ
आऊ दाजै हामी पनि यो समयको लौरो टेकौं
आऊ दाजै हामी साकेला नाचौं ।

सेतो हिउँको वस्त्र ओढेका
चोमोलुङ्माको काखबाट
असरल्ल रातो गण्डकीहरु
बगेको देखेर
कतै शान्तिको खोजीमा उडेका
प्र्रशात परेवाहरु
उडेका उड्यैछन्
देउरालीका धुपी निलगिरि र गुराँसहरु
अर्धरुवाइमा हाँस्दा-हाँस्दा थाकिसके
तिम्रो ब्यूँझाइएको सर्तमा म देखिरहेछु
घर आँगनमा दृष्टान्तमा नयाँ पवनहरु बगिरहेको
खै भुमिपूजाको खोजमा साल्पा र
चौदण्डीहरु दुख्न थालेको
त्यसैले त दाजै
सुक्नै लागेको समय ब्यूँझाउनुपर्छ
आऊ दाजै हात जोडेर
साकेला नाचौं ।

निष्कर्षतः
यतिबेला समयले
परिवर्तनको बिहान खोजिरहेको छ
पारुहाङ र सुम्निमाको कसम खाएर
हाम्रा अधिकारहर खोस्नेलाई
काली गण्डकी बन्दक राखेर
स्वार्थको तलाउमा छलाङ मार्न खोज्नेलाई
एक झोक्का तीर मार्नुपर्छ
सिमे-भूमेको बली चढाउनुपर्छ
यो माझकिरातको भूमिमा
धनुषकाडको झण्डा फहराउनुपर्छ
त्यसैले त दाजै
निशंकोच हात समाऔं
आऊ हामी साकेला नाचौं ।

रसुवा, उदयपुर