Friday, September 11, 2009

तायाचुङ

विष्णु श्रापित

नाना-तायामा
बैनी-खियामा
भाइ-रैछाकुम्पा

तायामा-
वैंशालु रहरहरु
मालाथुम्किको गुराँससँगै सजाएर
तिमीले तानको लयमा
सिलीको भाका गायौ
टुहुरो खियामा र रैछाकुप्पाको
दुधे पेटको लागि
तिमीले आपुनो सपनाहरु
तानको धागोसँगै बुन्यौ
अनि उनीहरुलाई
आपुूसँगै
सिली टिप्न सिकायौ
आज
तिमीले रोपेको सँस्कृतिहरु
हामीले हुर्काइरहेका छौं
तिमीले छाडेको पदचापहरु
हामीले पछ्याइरहेका छौं ।

खियामा-
कांगे ठाक्रो बनाउन
उभो लेकतिर
मालिङ्गो घारीमा रमाउने
मामा साफोक्तेलाई
तिमीले दुःख दिँदा
तिमी हराएछौ
तिमी पुरिएछौ
अनि त
नाना तायामाले
चाल पाए र मावलीको शिर उभ्याउनी
राखिदिए लैङासा ।

रैछाकुप्पा-
तिमी टुहुरो हुँदा
तिमी नाबालक छँदा
हेरचाह गर्ने
तिम्रो नानाहरुलाई
तिम्रो चेलीहरुलाई
तिमीले कसरी भुल्न सक्थ्यौं
त्यही खातिर
तिमीले तिम्रो बिहेमा
उत्तर हिमालतिर
उक्लेको खियामा
दक्षिण मधेशतिर
झरेको तायामा
दुवैलाई निम्तो डाक्यौ
र चेलीको बिदाउनीमा
बाटो खर्च
लगाइदियौ-खुर्बू ।

यो समय
मालाथुम्कीको आकाशमा
हाम्रो प्रदेशको
मध्य भू-भागमा
नितान्त हाम्रो प्यारो घाम
उज्यालो बोकेर उदाएको छ
त्यसैले-
माइती रैछाकुप्पा
तिमीले छाडेको
ढ्याङ्ग्रो गजा र सिक्केहरु
चेली तायामा खियामाले छाडेको
तानको साँचो र थुरी
हामीले िसंगारेर राखेका छौं
फेरि पनि तिमीहरु
उत्साह बोकेर आऊ
हामी सबै मिलेर
तायाचुङमा तान बुनौं
मुन्धुम गाउदै
एकपटक साकेलामा सिली नाचौं ।

No comments:

Post a Comment